Wednesday, September 15, 2010

नयाँ प्रक्रियामा जाऔं: दाहाल

काठमाडौं, भाद्र ३१ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले निष्कर्ष ननिस्कने प्रधानमन्त्री चयन प्रक्रियाले मुलुकलाई दुःखद अवस्थामा पुर्‍याउन लागेको उल्लेख गर्दै राजनीतिक 'ट्रयाक' बदल्न जरुरी भएको बताएका छन् । 'जनताको विश्वास जित्न राजनीतिक ट्रयाक बदल्न जरुरी छ,' उनले भने, 'केही दिनभित्र नयाँ प्रक्रियामा लैजान जरुरी छ ।'

दाहालले बुधबार चारवटा पुस्तक विमोचन कार्यक्रममा माओवादीको पहलमा राजनीतिक गतिरोध अन्त्य गर्न चाहेको पनि बताए । उनले प्रधानमन्त्री निर्वाचन अग्रगामी र प्रतिगामीबीचको संघर्ष भएको उल्लेख गर्दै त्यो मोर्चा जित्नैपर्ने बताए । 'झट्ट हेर्दा प्रधानमन्त्री निर्वाचन दुई उम्मेदवार लड्छन्, हार्छन् जस्तो देखिन्छ,' उनले भने, 'सारमा राष्ट्रियता, स्वाधीनता पक्षधर र राष्ट्रिय आत्मसमर्पणवादीबीचको लडाइँ हो ।'

उनले नयाँ प्रक्रियाबारे भने व्याख्या गरेनन् । माओवादीले एकतर्फी उम्मेदवारी फिर्ता लिने विषयमा निर्णय भने भइसकेको छैन । कांग्रेसले उम्मेदवारी फिर्ता नलिएसम्म एकतर्फी फिर्ता लिने सम्भावना कम छ । कांग्रेस महाधिवेशनपछि मात्र प्रमुख तीन पार्टीबीच नयाँ प्रक्रियामा जाने विषयमा छलफल हुनेछ । कांग्रेस यही प्रक्रियाबाट टुंगोमा पुग्नुपर्ने पक्षमा छ ।

स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले कांग्रेस-एमाले तयार नभएसम्म नयाँ प्रक्रियामा जान गाह्रो हुने बताए । 'सहमति नगरी माओवादीले मात्र उम्मेदवारी फिर्ता लिने कुरा आउँदैन,' उनले कान्तिपुरसँग भने, 'सहमतिका लागि कांग्रेस-एमाले तयार हुनुपर्‍यो ।' उनले माओवादी सहमतिका लागि त्याग गर्न तयार भएको पनि जनाए ।

निष्कर्ष ननिस्कने प्रधानमन्त्री निर्वाचन प्रक्रियाले जनता 'दिक्क' भएको उल्लेख गरे । 'न निष्कर्षमा पुग्ने, न पछि हट्ने अवस्था छ,' उनले भने, 'यसले मुलुकको परिस्थितिलाई जटिल बनाउँदै गएको छ ।'

संसद्को बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अन्य दलले सरकार बन्न नदिने षड्यन्त्र गरेको आरोप लगाए । 'राष्ट्रिय सहमतिमा जोड दिँदै उम्मेदवारी फिर्ता लिने घोषणा गर्‍यौं तर अन्य दल सरकार बन्न नदिन षड्यन्त्र रच्दै अघि बढेका छन्,' उनले भने, 'फेरि पनि हामी राष्ट्रिय सहमतिका लागि अपिल गर्छौं ।'

नयाँ प्रक्रियाका लागि माओवादी र कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिई अन्तरिम संविधान र संसद् कार्यव्यवस्था संशोधनका लागि सहमति जुटाउनुपर्ने हुन्छ । यसमा दलहरूबीच गृहकार्य नै भएको छैन ।

अर्का माओवादी स्थायी समिति सदस्य गिरिराजमणि पोख्रेलले सबै दलसँग छलफल गरी 'प्रधानमन्त्री निर्वाचन चक्र' लाई तोड्ने केन्द्रीय समितिको निर्देश भएको जानकारी दिए । 'सबै दलसँग छलफल गरी यो चक्रलाई तोड्नुपर्छ भन्ने हो,' उनले भने, 'सहमति गरी नयाँ प्रक्रियामा जानुपर्छ ।' तर उनले जनादेशअनुसार माओवादीकै नेतृत्वमा सरकार हुने अडान कायम रहेको बताए ।

केन्द्रीय समिति बैठकले उम्मेदवारी फिर्ता लिने/नलिने निर्णय गर्ने जिम्मा स्थायी समितिलाई दिएको छ । माओवादीको नेतृत्वमा सरकार बन्न नदिने षड्यन्त्र भइरहेको माओवादी बुझाइ छ । 'सरकार गठन हुन नदिन भारतको भूमिका छ,' पोख्रेलको भनाइ छ, 'यही स्थिति रहन दिए थप संकट आउँछ ।'

No comments:

Post a Comment