काठमाडौं
नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ टोलीले नेपालमा वैदेशिक हस्तक्षेपको चीनले सँधै विरोध गर्ने बताएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका सहसचिब हि याङ नेतृत्वको टोलीले आइतबार विहान राष्ट्रपति डा.रामवरण यादव र प्रधानमन्त्री माधबकुमार नेपाललाई छुट्टा छुट्टै भेटी उक्त कुरा बताएको हो । टोलीले एउटा छिमेकीको नाताले नेपालका हरेक कृयाकलापप्रति चीनको चासो राख्नु स्वाभाविक भए पनि हस्तक्षेपको सँधै विरोधी रहेको स्पष्ट पारेको छ । उपप्रधानमन्त्रीको हैसियत सरहका याङ टोलीले प्रधानमन्त्री नेपाललाई सिंहदरबारमा भेट गरी नेपालको आन्तरिक समस्या आफै समाधान गर्न नेपाल सक्षम रहेको विश्वास व्यक्त गर्दै राजनीतिक दलहरुबीचको आपसी बेमेल छिटो अन्त्य गरी नेपालले शान्तिप्रक्रिया र संविधान लेखनलाई गति दिनुपर्नेमा जोड दिएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराइले शान्तिप्रक्रिया, संविधान लेखन र दुई देशबीचको सम्बन्धको विषयमा छलफल भएको जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई भेटेलगत्तै चिनियाँ कम्युनिष्ट पार्टीका सहसचिब हि याङ नेतृत्वको टोलीले शीतल निबासमा राष्ट्रपतिलाई भेटेको थियो ।
यसैगरी चिनियाँ टोलीले अपरान्ह तीन बजे होटल सोल्टीमा नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई भेट्ने कार्यक्रम तय भएको छ । भेटमा नेपालको शान्तिप्रक्रिया, संविधान निर्माण, दुई देशबीचको सम्बन्धलगायत विषयमा छलफल हुने बताइएको छ । शनिबार काठमाडौं आएलगत्तै उच्च राजनीतिक भेटवार्ता सुरु गरेको थियो । नेपालका मुख्य तीन दलको निमन्त्रणा आएको भनिएको चिनियाँ उच्चस्तरीय टोलीले हिजो एकीकृत नेकपा माओवादी र नेपाली काङ्ग्रेसका शीर्ष नेतृत्वलाई भेट गरी नेपालको पछिल्लो विकासक्रम, शान्ति प्रक्रिया, संविधान लेखनमा भइरहेको ढिलाइप्रति चासो र चिनियाँ सरकारको धारणासमेत सुनाएको थियो ।
ङवाङ तेन्जी शेर्पा
काठमन्डौ
No comments:
Post a Comment