लन्डन, आश्विन २ - लन्डनस्थित नेपाली राजदूतावासका कूटनीतिक कर्मचारीले मर्यादा विपरित आफ्ना मान्छेलाई कर्मचारीका रुपमा भिसा दिलाएको रहस्य खुलेको छ । दूतावास कर्मचारीका रुपमा भिसा लिएपनि ति 'भाग्यमानी' कर्मचारीहरु भने कहिल्यै दूतावास हाजिर हुँदैनन् । बरु उनीहरु अन्यत्रै रेष्टुरेन्ट, वेयर हाउस वा घरमा काम गरिरहेका पाइएका छन् ।
शक्तिको दुरुपयोग गर्दै अनावश्यक कर्मचारीलाई भिसा दिलाएको सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालयले 'गम्भीर' मान्दै विस्तृत जानकारी समेत मागेको छ ।
कान्तिपुरलाई प्राप्त भदौ २५ को मितिमा परराष्ट्र उपसचिव हरिश्चन्द्र घिमिरेद्वारा हस्ताक्षर गरि फ्याक्समार्फत दूतावास पठाइएको पत्रमा 'प्रसाईं थरका र हुमराज नामका व्यक्तिलाई भिसा दिलाएकोबारे खास कुरा के हो' जानकारी दिन भनिएको छ । मन्त्रालयले नाम र थर स्पष्ट नलेखेपनि उनीहरु गोपीकृष्ण प्रसाईं र होमराज लम्साल रहेको दूतावास श्रोतले
जनायो ।
'त्यस राजदूतावासका कूटनीतिक कर्मचारीले राजदूतावासमा हुँदै नभएका प्रसाईं थरका र हुमराज नामका व्यक्तिलाई दूतावासका कर्मचारीको रुपमा भिसा प्राप्त गराई दिएको र हाल उनीहरु बाहिर रेष्टुरेन्टमा काम गरिरहेको जानकारी प्राप्त भएकोले यसबारे के भएको हो यथाशीघ्र जानकारी पठाई दिनुहुन निर्देशानुसार अनुरोध गरिन्छ'- पत्रमा उल्लेख छ ।
पत्रको संकेत नंः/ए.आई./०६७/२१४ छ । पत्रमा भिसा दिलाउने कूटनैतिक कर्मचारीको नाम भने उल्लेख गरिएको छैन् ।
परराष्ट्रबाट पत्र प्रेसित भएको एक साता पुग्न लाग्दा पनि 'मिसन हेड' नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे भने यसबारे बेखवर छन् । 'खोइ मैले अहिलेसम्म पत्र पाएकै छैन् । पत्र नै गायव हुनुले त कर्मचारीकै नियतमा शंका गर्ने ठाउँ रह्यो'-चालिसेले कान्तिपुरसंग भने । उनले त्यस्तो काम भएको भए त्यो गैर कानुनी हुने जनाए । 'यो त मानव तस्कर नै भयो'-चालिसेले थपे-'यस्तो क्रियाकलापले देशकै छवि बिग्रन सक्छ ।'
दूतावास श्रोतका अनुसार, निश्चल अर्याल, विपिन पौडेल र कमलेश भुषालले दूतावास कर्मचारीको भिसा लिए पनि बाहिरै बसेर काम गरिरहेका छन् ।
लन्डनस्थित राजदूतावासमा हाल राजदूत, मिनिष्टर काउन्सिलर, मिलिट्री एट्याची र अरु दुई एट्याची गरि ५ कुटनैतिक कर्मचारी छन् भने ७ अस्थायी कर्मचारी कार्यरत छन् । कुटनैतिक कर्मचारीले एक एक जना 'एटेन्डेन्ट' राख्न पाउने प्रावधान छ र उनीहरु दूतावासमै रहेर काम गर्नुपर्ने भएपनि यथार्थमा त्यो छैन् । 'दूतावासमा मात्र सिमित हुँदा नेपाली रुपैंयामा आउने तलवले धान्नै नसकिने भएकाले अन्यत्रै काम गरिरहेका छन्'-दूतावासका एक कर्मचारीले भने ।
Ngawang Tenji Sherpa
No comments:
Post a Comment